नयाँ सरकार गठनको समयसीमा आज सकिँदै, दलहरू अन्तिम कसरतमा

काठमाडाैँ । सरकार गठनबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्र प्रधानमन्त्रीको दाबीबाट पछि नहट्दा बैठक निष्कर्षबिहीन भएको हो ।

यद्यपि गठबन्धनकै सरकार बनाउने विषयमा भने तीनवटै दल सहमत देखिएका छन् । प्रधानमन्त्रीमा दुई/दुई/एक वर्षको आलोपालो गर्ने मोटामोटी सहमति पनि जुटेको छ । बालुबाटार स्रोतका अनुसार कांग्रेस र माओवादीले दुई-दुई वर्ष र एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको हो । तथापि सुरुमा प्रधानमन्त्री को हुने भन्ने विषय भने जटिल बन्दै गएको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने बताए । कांग्रेसले डेढ वर्ष सरकारको नेतृत्व गरिसकेकाले अबको नेतृत्व आफूले पाउनुपर्ने अडान उनको छ । ‘अहिलेसम्म तपाईं हुनुभयो । अब म प्रधानमन्त्री बन्दा संगति पनि मिल्छ । निरन्तर तपाईँ नै प्रधानमन्त्री बन्ने कुरा गठबन्धनको भावनासँग मेल खाँदैन । कांग्रेसले कम सिट ल्याउँदा पनि तपाईँलाई हामीले सहयोग गरेकै हो,’ प्रचण्डले देउवालाई भनेको कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

उनका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डको प्रस्तावलाई अस्वीकार भने गरेनन् । तथापि पहिलो कार्यकाल आफू नै प्रधानमन्त्री हुनुपर्ने कुरामा देउवा टसमस पनि भएका छैनन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले को पहिले भन्ने विवादलाई ठूलो नबनाउन र आपसमा सहमति खोजेर गठबन्धनको रक्षा गर्न सुझाव दिएका थिए ।

आज बिहान बस्ने बैठकले पहिला प्रधानमन्त्री को बन्ने ? भन्ने विषय टुंगो लगाउने र त्यसपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको बाँडफाँट हुने बैठकमा सहभागी ती नेताले बताए । मंसिर ४ को निर्वाचनमा गठबन्धन सहभागी भएर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा निर्वाचनमा गएका थिए । यी दलहरू अहिले सरकार गठनको तयारीस्वरुप छलफलमा रहेका छन् ।

यसैबीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिन नसक्ने संकेत गरेका छन् । एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई सघाउन सक्ने चर्चा भइरहेको बेला एमाले अध्यक्ष ओलीले भने साथ दिन नसकिने संकेत गरेका हुन् । दाहालले निर्णय गर्न ढिला गरेको ओलीको भनाइ छ । निर्णय लिन ढिलो गरेकाले माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्री बन्ने चाहना अब पूरा नहुने दाबी गरे ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले गत आइतबार संविधानको धारा ७६ (२)अनुसार सरकार गठनका लागि पुस १० गतेसम्मको समय दिएकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दासमेत दलहरूले दाबी पेश गर्न सकेका छैनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री