काठमाडौँ । प्रतिनिधि सभाका नव निर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । जबराले प्रतिनिधि सभाका अरू नव निर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।
शपथअघि ज्येष्ठ सदस्य जबराले बिहान १२ बजे सर्वदलीय बैठक बोलाएका छन् । शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहनेछ । प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ भने ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।




