काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सात दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
उनले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान गरेकी छन् । धारा ७६ को उपधारा १ अनुसार कुनै दलको बहुमत नपुगेकाले उपधारा २ अनुसार मिलिजुली सरकार बनाउन राष्ट्रपतिबाट आह्वान भएको हो ।
उपधारा २ मा भनिएको छ- उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछ । हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले कुल ८९ सिट जितेर ठुलो पार्टी बनेको छ ।
- राष्ट्रपति कार्यालयको विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम मिति २०७९/८/२९ मा पेश हुन आएकोले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७:०० बजे भित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ ।




