गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु हुँदैन : गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिलाई राष्ट्रपति बनाउनु नुहने बताएका छन् । त्यस्तो व्यवस्थाको आफू विरुद्धमा हुने उनले बताए ।

‘केही दिनयता संचारमाध्यमहरुमा गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने हल्ला चलेको छ । यो यादि सत्य हो भने घुडा टेकुवा प्रवृति हो । यो अहिलेको व्यवस्थाबाट विचलन भएर निर्दलीय व्यवस्थामा जाने कुरा हो । यसलाई मान्न सकिँदैन ।’

उनले दलीय व्यवस्थामा देशको नेतृत्वकर्ता राजनीतिक नेताहरु नै हुने भएकोले त्यसको विकल्प खोज्नु घातक हुने बताए ।

संवाद डबलीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन् । उनले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठेको बताएका छन् । चुनावको परिणामले दलहरुबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने बताउँदै गुरुङले दलहरुबीच समझदारी आवश्यक रहेको बताए ।

दलहरुबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने बताए ।

‘अहिलेको चुनावले केही नयाँ संकेत गरेको छ, नयाँ दलहरुको मिसन र भिजन प्रष्ट भइसकेको छैन । उनीहरु कतातिरको बाटोमा हिड्ने हुन् हेर्न बाँकी छ तर पनि प्रणालीमाथि केही प्रश्न उठेका छन् । दल र नेताहरुले गम्भीरतापूर्वक त्यसको जवाफ नदिए देश अफगानिस्तान र युक्रेन नहोला भन्न सकिँदैन,’ उनले भने ।

राष्ट्रिय स्वधिनताको सवाल गम्भीर भएर आएको भन्दै त्यसमा प्रतिवद्धताका आधारमा गुरुङले आफूहरुको सहकार्य हुने बताए ।

महासचिव गुरुङले देशको अभिभावक तथा अहिलेको परिवर्तनको संवाहक जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दल र नेताहरु भएको बताए । उनले शान्तिप्रक्रियामार्फत अहिलेको अवस्थामा दलहरु पुगेको बताए ।

उनले भने, ‘जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दलहरु देशका अभिभावक हुन् । मुख्यगरी विचार र सिद्धान्त र अहिलेको परितर्वनको हिसाबले माओवादी देशको अभिभावक हो । यो जिम्मेवारीबाट पछि हट्नु हुँदैन । शान्तिप्रक्रियाका हस्ताक्षरकर्ता भएकोले प्रचण्डले अबको सरकारको नेतृत्व गर्नुपर्छ ।’

विश्वमै कम्युनिस्ट आन्दोलन कमजोर भएको बेला नेपालमा त्यसको प्रभाव चुनावमा पनि देखिएको गुरुङले बताए । उनले आफूहरुले नयाँ परिस्थितिमा पार्टी निर्माण र जनतासँग जोडिने विषयमा कमजोरीका कारण चुनावको परिणाम आएको बताए । पार्टीले चुनावको गम्भीर समिक्षा गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा हुम्लाबाट हालै सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा, प्रदेशसभा सदस्य रणसिंह परियार, जुम्कित लामा कार्की विजया बोहोरा र प्रदेशसभा सदस्य कलबहादुर हमाललाई बधाई तथा सम्मान गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री