यतीको जहाजमा यात्रा गर्ने कुनाल विष्टले जिते यमाहाको स्कुटर

काठमाडाैं । यती एयरलाइन्सको चाडपर्व उडान अफरअन्तर्गत सञ्चालित ‘यतीमा मङ्लमय फ्लाइट, बम्परमा जितौँ नयाँ राइड’को उपहार कुनाल विष्टले जितेका छन् ।

यतीले आज सञ्चालन गरेको लक्की ड्र भाग्यशाली विजेता घोषणा कार्यक्रममा विष्टले यमाहा कम्पनीको तर्फबाट दुई लाख ८६ हजार ९०० मूल्यबराबरको यमाहा रे जेडआर स्कुटर प्राप्त गरेका हुन्। विष्टले भद्रपुर–काठमाडौँ उडान गरेका थिए।

यस्तै, दोस्रो पुरस्कार दिपक थापाले हात पारेका छन्। उनले बालाजी डाइमण्डको तर्फबाट ८२ हजार मूल्यबराबरको हिराको टप प्राप्त गरेका हुन्। थापाले भैरहवा–काठमाडौँ उडान गरेका थिए।

यसैगरी, तेस्रो पुरस्कार पोखरा–काठमाडौँ उडान गरेकी कल्पना गुरुङले प्राप्त गरेकी छिन्। उनले ५९ हजार ९९९ मूल्यबराबरको यसुदा वासिङ मेसिन प्राप्त गरिन्।

यती एअरलाइन्सले चाडपर्वको समय यात्रा गर्ने आफ्ना यात्रुहरुलाई लक्षित गरी असोज १० देखि कात्तक २५ गतेसम्म ४७ दिन उडान भर्ने यात्रुलाई उक्त कार्यक्रममा सहभागिता गराएको थियो। सोही अवधिमा एक लाख १७ हजार ५३८ यात्रुले यती एयरलाइन्समा यात्रा गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

विजेता यात्रुहरुलाई एअरलाइन्सले सम्पर्क गरी उपहार वितरण गरिने उनले जानकारी दिए। कार्यक्रममा बोल्दै एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले यती एयरलाइन्सलाई माया गरेर यात्रा गरेकोमा सम्पूर्ण यात्रुलाई धन्यवाद दिए। आगामी दिनमा पनि यतीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप