काठमाडौं – बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो ।
सोही ठाउँका अन्दाजी २५ वर्षीय सुरेन्द्र ऐडी (संजिव) को गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे । उनले भने, ‘सुरेन्द्र बितिसक्यो, अरु स्थानीयहरु घाइते छन् । यहाँ अवस्था त्रासपूर्ण छ । कोलाहल र रुवाबासी चलेको छ । स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।’
उनकाअनुसार गोली चलेपछि ३/४ जना स्थानीय घाइते भएका छन् । घाइतेहरुको पहिचान हुन सकेको छैन । घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ ।



