काठमाडाैँ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका सागर ढकालले मौन अवधिमा फेसबुकमा एक पोष्ट गर्दै गठबन्धनले सकिने बेला दुःख दिने बताएका छन् । उनले आफूलाई गरेका पोष्ट डिलिट गर्न पनि अनेक धम्की आएको बताएका छन् ।
उनले केही समय अगाडि फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘मलाई पोस्ट डिलिट गर्नुस् भनेर अनेक धम्की दिँदा संयमित भएर बसे ।
तर आज म चुप लागे भनेर यसबाट पनि अघि बढेर उहाँहरू हाम्रो टिम र समर्थकहरूमाथि रातारात मिटिंग गरेर तिमिहरूलाई हामी चाहिन्छ कि सागर भनेर दबाब सिर्जना गर्ने, समर्थकको पोस्ट डिलिट गर भन्ने गरी धम्की दिने काम हाम्रो प्रतिस्पर्धीबाट आएको छ।’
उनले अगाडि लेखेका छन्, ‘सबैले निर्वाचनको अन्तिम समयमा धाँधली नगरी संयमित भइदिनुहुन अनुरोध गर्दछाैँ । हामीले पैसाको घाँटी पनि सक्ने गरी रोक्ने प्रयास गरिरहेका छौँ । बत्ती निभ्ने बेलामा धपक्क ठुलो गरी बोल्छ, त्यस्तै यो गठबन्धनले अन्तिम समयमा सिद्धिनु अघि अलि दुःख दिन सक्छ। साथीहरू सचेत रहनुहोला, निडर रहनुहोला । सबैलाई यो भोलिको निर्वाचन निष्पक्ष र मर्यादित बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’




