काठमाडौँ । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान शुरु भएको छ । अहिले केहीबेर अघिदेखि प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान शुरु भएको हो ।
मुलुकका ७७ वटै जिल्लामा अपराह्न ५ बजेसम्म एक चरणमा मतदान जारी रहनेछ । निर्वाचन आयोगकाअनुसार निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो । मतदान सकिए लगत्तै मतपेटिका सम्बन्धित क्षेत्रमा सङ्कलन गरेर तत्काल मतगणना सुरु गर्ने आयोगको तयारी छ ।
सुगम क्षेत्रमा सर्वदलीय बैठकपछि आजैरातिबाट मतगणना शुरु गरिने आयोगले जनाएको छ । पहिलो चरणमा प्रतिनिधिसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतगणना हुनेछ । सोलगत्तै प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना प्रारम्भ हुनेछ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिएपछि प्रतिनिधिसभाको समानुपातिक र त्यसपछि प्रदेशसभाको १ र २ को समानुपातिकको मत गणना हुनेछ । प्रत्यक्षतर्फको मतगणना तीन दिनभित्र सम्पन्न गर्ने रणनीति बनाएको छ ।




