प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय, मोरङमा पनि शंकास्पद वस्तु भेटियो

काठमाडाैँ । बैतडी र दार्चुलाको सीमामा पर्ने गोकुलेश्वर बजार नजिकैको पुलमा भेटिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ । सो बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको हो ।

कुलेश्वर बजार नजिकैको पुलमा शुक्रबार राति भेटिएको प्रेसरकुकर बम शनिबार बिहान डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न एवं मतदातालाई त्रसित पार्ने उद्देश्यले बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विराटनगरको पुष्पमार्गमा शंकास्पद वस्तु फेला
यता मोरङ विराटनगर–३ पुष्पमार्गमा बिहान शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका छन् ।

आज बिहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।

निर्वाचन मिति नजिकिएसँगै देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला पर्ने क्रम बढेको छ । निर्वाचन बिथोल्ने मनासायले यस्ता गतिविधि बढेको भन्दै प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाइएको दाबी गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री