काठमाडौँ । ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्ना कर्मचारीहरूसँग ट्विटर दिवालिया हुने सम्भावनाको बारेमा छलफल गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले ट्विटरका कर्मचारीहरूलाई दिवालिया हुने सम्भावनालाई अस्वीकार नगरेको जानकारी दिएका छन् ।
ट्विटरमा आफ्ना कर्मचारीहरूसँगको पहिलो भेटमा मस्कले अर्को वर्ष कम्पनीलाई अर्बौं डलर गुमाउन सक्ने चेतावनी दिदै वरिष्ठ कर्मचारीहरुलाई हटाउनु पर्ने बताए । एलोन मस्कले हालै ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । त्यसयता उनले यो सामाजिक सञ्जालमा धेरै परिवर्तन पनि गरेका छन् ।
यसैबीच, ट्विटरले विश्वभरि ३५ सयभन्दा बढी कर्मचारीलाई निकालेको छ । यस विषयमा मस्कले पनि आलोचनाको सामना गर्नु परेको छ । कम्पनीलाई घाटा भएको भन्दै उनले ब्लु टिकको सदस्यता पनि लिन थालेका छन् ।
मस्कले ट्वीटरको आम्दानी घटाउनका लागि कार्यकर्ता समूहहरूले विज्ञापनदाताहरूलाई प्रभाव पारेको आरोप पनि लगाए । यसैबीच, अमेरिकाको संघीय व्यापार आयोगले पनि ट्विटरमा केही कर्मचारीको बाहिरिने विषयमा चिन्ता व्यक्त गरेको छ ।
आयोगले तीन गोपनीयता र अनुपालन अधिकारीहरूको प्रस्थानको बारेमा “गहिरो चिन्ता” संग ट्विटरको निगरानी गरिरहेको बताएको छ ।
ट्विटरका दुई वरिष्ठ कर्मचारी जोएल रोथ र रोबिन व्हीलरले बुधबार राजीनामा दिएका छन् । बिहीबार, ट्विटरका प्रमुख सुरक्षा अधिकारी ली किसनरले ट्विटरबाट राजीनामाको घोषणा गरे । उनले ट्विट गर्दै यो जानकारी दिएका हुन् ।




