तीन सातापछि खुल्यो कर्णाली राजमार्ग

१९ देखि २५ असोजसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ। पहिरोका कारण झन्डै ४० किलोमिटर सडक अवरुद्ध थियो । दैलेखोला–जुम्लासम्म १०४ किलोमिटरमध्ये ४० किमि सडक पहिरोले पूर्णरुपमा अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुको जनजीवन प्रभावित भएको थियो ।

सडक डिभिजन जुम्ला र नेपाली सेनाको दिनरात खटाइले अपेक्षा गरिएभन्दा छिटो कर्णाली राजमार्ग खुलेको हो। सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले २० दिनपछि सोमबार राति साढे ८ बजेबाट कर्णाली राजमार्ग खुलेको बताए। सडक खुलाउन सडक डिभिजन जुम्लाका एक सयभन्दा बढी जनशक्ति फिल्डमा खटिएका थिए। यस्तै, नेपाली सेनाको नन्दाबक्स गणको ५० जनाको टोली राँचुलीमा क्याम्प नै बसेको थियो ।

‘दिनरात नभनी साढे दुई हप्तामै राजमार्ग खुलाउन सफल भयौं। तिहारमा कर्णालीबासीलाई उपहारका रुपमा राजमार्ग खुलाउने लक्ष्यअनुसार काम गरेका हौ । सोमबार राति साढे ८ बजेदेखि सडक सञ्चालनमा आएको छ,’ श्रेष्ठले भने ।

तिहारमा घर जान नपाएर अलपत्र परेका नागरिक सडक खुलेपछि उत्साहित भएका छन्। राजमार्गको धनडा सडक खण्डबाट पहिरो पन्छाउने काम सम्पन्न भएको प्रमुख श्रेष्ठले जानकारी दिए।

सडक अवरुद्ध भएपछि आत्तिएका कर्णालीबासीलाई चाँडै राहत दिन कार्यक्षेत्रभन्दा बाहिर कालिकोट क्याम्प बस्ने गरी सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले बताए। ‘यसपालिको विपदमा प्रभावित नागरिकलाई राहत उद्धार तथा पुनर्स्थापनाका लागि सेना गाउँमै खटिएको छ। सोहीअनुसार सडक डिभिजनको समन्वयनमा पहिरो पन्छाउनेदेखि ब्लाष्टिङ गरेर सडक खुलाउन सेना सक्रिय भएको थियो,’ उनले भने ।

सडक खुलेपनि तत्काल सुरक्षित यात्रा हुने छैन। बाढीपहिरोले सडकको दुरावस्था भएकाले यसको स्तरोन्नतिका लागि संघीय सरकारले विशेष प्याकेजसहित बजेटको व्यवस्थापन गर्न जरुरी रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले …

प्रतिकृया दिनुहॊस