चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा विभिन्न देशबाट १ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि असोज मसान्तसम्म नेपालम कुल १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हाे।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको राष्ट्रबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो ।
पछिल्लो तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५.३ प्रतिशतले घटेको थियो ।
गत साउनदेखि असोज मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो।




