नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जसपालगायतका दलले आयोगले दिएको समयसम्म उम्मेदवारी फिर्ता नलिने बागीहरूलाई कारबाही थालेका छन्। कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। तर, कांग्रेसले बिहीबार बागीलाई थप पाँच दिन समय दिएर उम्मेदवारी निष्क्रिय बनाउने रणनीति अख्तियार गरेको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी ३१ असोजसम्म आफ्नो उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्ने बागी उम्मेदवार, प्रस्ताव र समर्थकलाई पार्टीले आवश्यक प्रक्रिया पूरा गरी कारबाही फुकुवा गर्ने उल्लेख गरेका छन्। त्यसका लागि कांग्रेसले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धतासहित सार्वजनिक रूपमा वक्तव्य जारी गर्नुपर्ने उल्लेख गरेको छ।



