काठमाडाैं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।
विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । “दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो”, उनले भने, “त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो । तर अहिले तीव्ररुपमा काम अगाडि बढेको छ ।”उनका अनुसार यतिबेला केबलकार परियोजनाको काम दु्रत गतिमा अगाडि बढाइएको छ ।
केबलकार आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम थालिएको शर्माले बताए । “ विसं २०८० वैशाख १ गतेदेखि केबलकार सञ्चालनमा आउँछ, केबलकारको टावर जडान सुरु भएको छ”, उनले भने । शर्माका अनुसार केही दिन अगाडि मात्रै केबलकारका सामान झारिएको छ । “टावरको सामान आउन ढिलाइ भयो, अहिले सामान झारेर काम सुरु भएको छ”, उनले भने ।
बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँच तारे होटलको निर्माण कार्य भने तीव्र गतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ ।




