काठमाडौँ । अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा गरी अहिलेसम्म ९ जनाको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीकाअनुसार अहिलेसम्म ९ जनाको शव फेला परेको छ । अझै १ दर्जनभन्दा बढी बेपत्ता भएको उनले बताए । पहिरोमा परेर २० जना घाइतेको उद्धार गरिएको हो ।
कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीकाँधमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको प्रजिअ मरासिनीले जानकारी दिए ।
ढकारी गाउँपालिकामा एक घर पुरिएर तीन घाइते भएको र एक जना पुरिएका छन् । तुर्माखाद गाउँपालिकामा पनि ९ जना बेपत्ता भएका छन् । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीको भनाई छ ।




