झापा। झापाका दुईवटा पानी उद्योगमा शिलबन्दी गरिएको छ । झापामा सञ्चालित पानी उद्योगको स्थलगत अनुगमन गर्न आएका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहितको टोलीले बिर्तामोडस्थित गोरखा मिनिरल वटार उद्योग र बुद्धशान्तिस्थित भगवती डेभरेज उद्योगमा तालाबन्दी गरिएको हो ।
मोहन सिटौला र ललीतचन्द्र गजुरेलद्वारा सञ्चालित गोरखाले ‘निरागी’ नामक पानी र सुमन पनेरुद्वारा सञ्चालित भगवतीले ‘ओ–एक्वा’ नामक पानी उत्पादन गर्दै आएका थिए।
दुवै उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरबाट खाद्य अनुज्ञयपत्र बिनै पानी उद्योग सञ्चालन गर्दै आएको बताइएको छ।
त्यसैगरी अर्जुनधारास्थित विशाल डेभरेज उद्योगले नियमविपरीत प्युरिकम पानी उत्पादन गरेको भन्दै उद्योगका सञ्चालक बसन्त सोमानीले आफै उद्योग बन्द गरी फरार भएका थिए।
उद्योगीका आफैले पानी उद्योग बन्द गरी फरार भएकाले ती उद्योगलाई कानुनी प्रक्रिया पूरा गरी शिलबन्दी गरिने अधिकारीहरुको भनाई छ। त्यसैगरी अनुगमन टोलीले झापामा सञ्चालित १८ वटा पानी उद्योगमध्ये १० वटा उद्योगको स्थलगत अनुमगन गरेका छन् ।

अनुगमनको क्रममा अधिकांश पानी उद्योगले प्लाष्टिकको पाइप प्रयोग गरेकाले स्टिलको पाइप र अटोमेटिक फिलिङ मेसिन प्रयोग गर्न अनुगमन टोलीले निर्देशन दिएको थियो।




