असोजमा निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुग्ने

काठमाडौं । नेपाल बैंकर्स संघले भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदरमा भइरहेको भद्र सहमति खारेज गर्ने निर्णय गरेको हो ।

संघको यो निर्णयसँगै असोजका लागि बैंकहरूको ब्याजदर बढ्ने देखिएको छ । संघले अबदेखि बैंकलाई नै ब्याजदर निर्धारण गर्न दिने निर्णय गरेको छ। राष्ट्र बैंकले ब्याजदर बढाउन स्पष्ट निर्देशन दिँदा पनि बैंकहरूले ब्याजदर नबढाउने भद्र सहमति गरेका थिए ।

देशको आर्थिक अवस्थामा सीधै असर पर्ने भएकाले संघले भद्र सहमति गरेको थियो । सोही कारण केही बैंकहरू संघप्रति रुष्ट थिए । केही दिनअघि एनआईसी एसिया बैंकले १३ प्रतिशतभन्दा बढी ब्याजदर दिएको भन्दै कारबाहीका लागि संघमा निवेदनसमेत परेको थियो । सो बैंकलाई संघले स्पष्टीकरणसमेत सोधेको थियो ।

तर पछिल्लो समय निक्षेप पर्याप्त वृद्धि नभएपछि बैंकहरूले नै ब्याजदर बढाउन पाउनुपर्ने भन्दै संघसमक्ष माग राखेका थिए। सोही कारण संघले ब्याजदर तोक्ने जिम्मा बैंकलाई नै दिएको हो । राष्ट्र बैंकले दिएको निर्देशनअनुसार अघिल्लो महिना औषतको १० प्रतिशतका दरले ब्याजदर तल–माथि गर्न पाइन्छ । तरलता अभाव भएका कारण बैंकहरूले ब्याजदर अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले बढाउने पक्का छ ।

संघका अनुसार हाल वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपको हकमा ११.०३ प्रतिशत रहेको छ । उनीहरूले १० प्रतिशते बढाउँदा ब्याजदर १२.१३ प्रतिशत पुग्नेछ । यो ब्याजदर १ असोजदेखि लागु हुने संघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री