भीभीआईपी सवारीले चौतर्फी सास्ती

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपतिसँग अपराह्न ४ बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको हो ।

त्यसअघि अध्यक्ष लीले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्नेछन् । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने तय भएको छ । मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका थिए । ली चान्सु गत सोमबार काठमाडौँ आएका थिए । सोही दिन उनले सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका थिए ।

सडक दिनभरजसो प्रभावित हुने
अध्यक्ष ली उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयले भीभीआईपी सवारीको कारण काठमाडौँ उपत्यकाका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने जानकारी दिएको हो ।

साथै कार्यालयले  वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ । बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

अपरान्ह साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन  प्रभावित हुने भएको छ ।  उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका चान्शुलाई सरकारले भीभीआईपी पाहुनाको सम्मान दिइरहेको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले लीको भ्रमण अवधिभर आवागमन र बस्ने स्थानको सुरक्षामा कुनै कमजोरी हुन नदिन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो  ।

अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्किने कार्यक्रम छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री