काठमाडौं । जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौँमै फर्किएको छ । १ सय ८४ यात्रु बोकेर नारितातर्फ उडेको विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौँमै फर्काइएको हो ।
निगम स्रोतकाअनुसार मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौँ विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो । कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौँ नै फर्काएका हुन् ।
प्राविधिकहरूले विमानमा देखिएको समस्याबारे अध्ययन गरिरहेका छन् । मर्मतपछि आजै विमान नारिता उडाउने तयारी गरिरहेको निगमको विमानस्थल कार्यालयले जनाएको छ । चालकदलले जहाज काठमाडौँमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।




