काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा आएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । केही बेरअघि भएकाे भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । यस्तै अध्यक्ष लीले परराष्ट्रमन्त्री डा नारायण खड्का र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि आजै भेटवार्ता हुनेछ ।
यसअघि आजै बिहान उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन् । ससद् भवन नयाँ बानेश्वरमा बिहान उनहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय भएको द्विपक्षीय भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिकृया दिनुहॊस