काठमाडौं – श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले बिदेसिएका श्रीलङ्कालीहरूबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहत मिलेको बताएका छन् ।
उनले उनीहरूबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । उनले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताए ।
उनले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिए । उनले रेमिटेन्स रकम पठाउने व्यक्तिहरूलाई विशेष धन्यवाद दिएका छन् । देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरूबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ- मन्त्री नानाकायराले भनेका छन् ।
गएको वर्षदेखि आर्थिक सङ्कटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी व्यक्तिले वैदेशिक रोजगारीका लागि बिदेसिएका पाइएको बताइएको छ ।
श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री नानायक्काराले सो कुराको जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । उनले यसै वर्षको जनवरीदेखि अगष्ट महिनासम्ममा ती नागरिकले श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता गराएर नै वैदेशिक रोजगारीका लागि गएको जानकारी दिएका हुन् ।
उनले आइतबार भनेका थिए, यसवर्ष मात्र दुई लाख भन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि विदेश गएका छन् र अरू पनि दर्ता नै नगराइकन विदेश गएका हुन सक्छन् ।




