काठमाडौँ । सत्ता गठबन्धनको कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो ।
कार्यदलका सदस्य माओवादीका उपमहासचिव वर्षमान पुनका अनुसार सिट सङ्ख्या भने शीर्ष नेताहरूले नै टुङ्ग्याउने गरी प्रतिवेदन बुझाइएको छ । कार्यदलमा नमिलेका केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सबैको दाबीसहितको प्रतिवेदन बुझाइएको छ ।
गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन रहेका छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुरागम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू पुरी र आनन्द शर्मा कार्यदल सदस्य रहेका छन् ।
प्रतिकृया दिनुहॊस