काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटका क्रममा मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनसँगै मुलुकको आधारशिला बलियो बनेको भन्दै अव मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्ने दायित्व सबैको रहेको धारणा राखे । त्यस्तै, मन्त्री कार्कीले अहिलेको गठबन्धन कसैको विरुद्ध लक्षित नभएर मुलुकको विकास र समृद्धिको लागि आवश्यकता भएको जिकिर गरे ।
मुलुकलाई अहिले राजनीतिक स्थिरता र संविधान र लोकतन्त्रको रक्षाका निमित्त गठबन्धन अपरिहार्य भएको उनको भनाई छ । त्यस्तै, कार्कीले आगामी १० वर्षभित्र मुलुकलाई विश्वकै धनी देशका रूपमा परिचित गर्नका लागि एकताबद्ध भएर मुलुकको पक्षमा काम गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहॊस