काठमाडाैँ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनले शोकमा परेको कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान साढे १० बजे पार्टी केन्द्रीय समितिको आकस्मिक बैठक राखेका हुन् ।
बैठकले सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति साढे ९ बजे निधन भएको हो ।
गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११.३० बजेदेखि दिउँसो २.०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए । यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।




