फिनल्यान्डकी प्रधानमन्त्रीले गराइन् लागु औषध जाँच

बीबीसी । फिनल्यान्डकी प्रधानमन्त्री साना मरिनले आफू फिनिश पपस्टारसँग नाचिरहेको फूटेज बाहिरिएर आलोचनामा परेपछि लागु औषध परीक्षण गराएको बताएकी छन् ।

उनको नाचेको भिडिओ सोसल मिडियामा चुहिएपछि केही नेताहरूले उनको नार्कोटिक्स अर्थात् लागु औषध लिए नलिएको परीक्षण गर्नुपर्ने माग गरेका थिए । शुक्रवार एक प्रेस सम्मेलनमा प्रधानमन्त्री मरिनले आफूले लागु औषधको परीक्षण गराएको र आगामी हप्ता परिणाम आउने जनाएकी थिइन् ।

उनले रिपोर्टरहरू सामुन्ने आफूले लागु औषध कहिल्यै सेवन नगरेको दोहोर्‍याइन् । उनले भनिन्, ‘किशोरकालमा समेत मैले कुनै पनि प्रकारको लागु औषध सेवन गरेकी छैन ।’ उनले आफूमाथि उठेका प्रश्नको निवारण खोज्न त्यस्तो परीक्षण गराएको बताइन् ।

पत्रकारहरूले सन् २०१९ देखि प्रधानमन्त्री पदमा रहेकी उनलाई सरकार प्रमुख भएका कारण केहीगरी तत्काल कुनै सरकारी निर्णय गर्नुपरेको भए कसरी गर्न सक्थिन् भनेर सोधेका थिए । उनले अहिलेसम्म मध्यरातमा अचानक स्टेट काउन्सिल प्यालेसमा (प्रधानमन्त्री कार्यालय) जानुपर्ने गरी कुनै पनि अवस्था आइलागेको एक पटक पनि नभएको उनले बताइन् । ‘मलाई लाग्छ म काम गर्न सक्ने अवस्थामा थिएँ । म पार्टीमा रमाइरहेका बेला कुनै बैठकहरू थिएनन् ।’

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले मदिरापान गर्दै आफ्ना साथीभाइसँग रमाइरहेको भिडिओ चुहिएसँगै उनको चर्को आलोचना भएको थियो । सामाजिक सञ्जालबाट लिइएको ठानिएको फूटेजमा फिनल्यान्डका सेलेब्रिटीहरूसहित आफ्ना साथीहरूसँग मरिनले नाचगान गरिरहेको देखिन्छ ।

खासगरी विपक्षी दलहरूले उनको आलोचना गरिरहेका छन् र एकजना नेताले त उनले लागु औषध सेवन गरे / नगरेको समेत जाँच गरिनुपर्ने माग गरेका थिए । ३६ वर्षीय मरिनले लागु औषध लिएको अस्वीकार गरेकी थिइन् र आफूले रक्सी पिएको र चर्को पाराले रमाएको बताएकी छन् । केही अघिसम्म उनी विश्वकै कान्छी सरका प्रमुख थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री