काठमाडाैँ । जापान सरकारले युवाहरुलाई मदिरा सेवन गर्न आग्रह गरेको छ । कोरोना भाइरस महामारीपछि मदिर सेवन गर्ने युवाको संख्या घटेपछि अर्थतन्त्र बचाउन जापानले युवालाई मदिरा सेवनका लागि प्रोत्साहित गर्न प्रतियोगिता समेत घोषणा गरेको छ ।
युवाहरुमा मदिरा सेवन गर्ने दर घट्दै गएपछि जापानको राजश्व संकलन घटेको बताइन्छ । त्यसैले सरकारले यस्तो योजना ल्याएको हो । जापानको नेश्नल ट्याक्स एजेन्सीले संचालन गरेको ‘सेक भिभा’ अभियानमा २० देखि ३९ उमेर समूहका युवाहरुलाई मदिरा सेवन गर्न प्रोत्साहति गर्न प्रस्ताव ल्याउन भनेको छ ।
सेप्टेम्बर ९ सम्म चल्ने उक्त प्रतियोगितामा मदिराको नयाँ ‘ब्रान्ड’ र डिजाइन दिनसमेत भनिएको छ । मेटाभर्सको प्रयोग गरेर समेत मदिरा बिक्रीको उपाय सुझाउन भनिएको छ । एजेन्सीका अनुसार सन् १९९५ मा एक व्यक्तिले एक वर्षमा कम्तीमा १०० लिटर मदिरा सेवन गर्थे। तर, सन् २०२०सम्म आइपुग्दा त्यो ५७ लिटर प्रतिवर्षमा झरेको छ । र, कोरोना भाइरस महामारी त्यो दर अझै घटेको बताइन्छ ।
सन् २०२० मा मदिरा बिक्रीबाट जापानमा १.७ प्रतिशत राजश्व संकलन भएको थियो। १९८० मा त्यो दर ५ प्रतिशत थियो ।




