भरतमोहन अधिकारी फाउन्डेसनले ज्येष्ठ नागरिकलाई दियो मोबाइल

काठमाडौँ । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रूपका सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरिएको छ ।

प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । कक्षामा सहभागी सबैलाई एक एक थान मोबाइल फोन उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ । बुधबार बुङमतिमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले ज्येष्ठ नागरिकलाई मोबाइल हस्तान्तरण गरे ।

प्रतिष्ठानले अधिकारीको ८६औं जन्मजयन्तीका अवसरमा गत वर्ष एक वर्षे ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’मार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने घोषणा गरेको थियो ।

समयसीमाभित्रै उक्त लक्ष्य हासिल भएको प्रतिष्ठानकी सदस्य एवं दिवंगत वामपन्थी नेता अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् । ज्येष्ठ नागरिकलाई आफन्त, साथीभाइ र सन्तानसँग कुराकानी गर्न सहज होस् भनेर मोबाइल वितरण गरिएको अधिकारीले बताइन् ।

प्रतिष्ठानले प्रदेश-१ को विराटनगरमा पनि यस्तै प्रकृतिको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमलाई सातवटै प्रदेशमार्फत देशभर विस्तार गरिने प्रतिष्ठानकी अध्यक्ष एवं भरतमोहनकी धर्मपत्नी सविता अधिकारीले जानकारी दिइन् ।

तत्कालीन एमाले नेतृत्वको अल्पमत सरकारको अर्थममन्त्री छँदा अधिकारीले ‘आफ्नो गाउँ, आफैं बनाऔं, गाउँगाउँमा सहकारी, घरघरमा भकारी, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता, एकल महिला भत्ता जस्ता कार्यक्रमको थालनी गरेका थिए । सोही कार्यका कारण दिवंगत भएपछि पनि ज्येष्ठ नागरिकका बीचमा अधिकारी लोकप्रिय छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घर पुगिनन् भारतबाट उपचार गरी फर्केकी १८ वर्षीया अञ्जली, एम्बुलेन्स दुर्घटना हुँदा बाटोमै ज्यान गयो

काठमाडौं । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ …

प्रतिकृया दिनुहॊस