काठमाडौँ । टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको इसेवाले जनाएको छ ।
केही दिनमै बाँकी ब्रोकरहरुमा पनि सेवा उपलब्ध हुने जनाइएको छ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरूले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सक्नेछन् ।
यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागी ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्ने कम्पनीको विश्वास छ । यो कारोबार रियल टाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुबैलाई सहज हुने जनाइएको छ । इसेवाका लगानीकर्ताले इ सेवामा रहेको टिएमएसमा क्लिक गरि फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफूले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ ।
टिएमएसमा रकम पठाउन सकिने विषयमा इ सेवाका बिजनेस हेड आशिष गौतमले भने, “आर्थिक स्वाधीनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी टिएमएसमा इसेवा जोडिएको छ । इ सेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ ।”
प्रतिकृया दिनुहॊस