काभ्रेस्थली घटना : बेलायत उड्ने तयारीमा थिइन् सुनिता

काठमाडौं । काभ्रेस्थलीस्थित ४ जना मृत भेटिएको घटनामा हाल प्रहरीले अनुसंधान गरिरहेको छ । तारकेश्वर नगरपालिका २ काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका ६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको हत्या गरेर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार दिनेश र उनकी श्रीमती सुनिताबीच भने पारिवारिक झगडा हुने गरेको थियो । उनीहरु पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको बालाजु बृत्तमा पुगेका थिए ।

गाउँलेका अनुसार पछिल्लो समय भने सुनिता बेलायत जाने तयारीमा थिइन् । ६ महिनाको सिजनल भिसा लगिसकेको उनी दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन् । त्यसका लागि उनले आइतबार मात्र माछापोखरीस्थित मेगाड्रिम सहकारीमा रहेको आफ्नो खाताबाट रकम झिकेर खाता बन्द गराएकी थिइन् ।

पारिवारिक झगडाकै कारण दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले गरेका छन् । घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ, जुन दिनेशले लेखेको प्रहरीले जनाएको छ ।

दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । उनले इलेक्ट्रोनिक्ससम्बन्धी काम गर्थे भने सुनिता फेन्सी पसल चलाउँथिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री