काठमाडाैँमा एकै परिवारका चारजना मृत फेला

काठमाडाैँ । काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन् । काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार दिनेश पाण्डेको घरमा पाण्डेसहित श्रीमती र छोराछोरी मृत फेला परेका हुन् । घटनास्थलमा संलग्न प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको हो । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाएको छ ।

४१ वर्षीया पाण्डे १० वर्ष कुवेतमा वैदेशिक रोजगारीको सिलसिलामा बसेर फर्केका थिए । दिनेशकी ३९ वर्षीया श्रीमती सुनीता पाण्डे घर नजिकै पसल चलाएर बसेकी थिइन् । ती प्रहरीका अुनसार उनीहरुको झैझगडा भइरहने र केही समयअघि दुईपटक बालाजु प्रहरी वृत्तमा मिलापत्र गरेर छाडिएको थियो ।

अनुसन्धानमा खटिएका ती प्रहरी भन्छन्, ‘हामीले प्रारम्भिक अनुसन्धानबाट पारिवारिक कलहबाट नै यो घटना भएको पत्ता लागेको छ । भित्रबाट चुकुल लगाएको, तीनजना भुइँमा लडेको र दिनेश झुण्डिएको देख्दा हत्या पछि आत्महत्या भएको देखिन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री