काठमाडाैँ । थुनामा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने प्रहरी सहायक निरीक्षक (असई) प्रविण चौलागाईँ निलम्बित भएका छन् । आफ्नो कोठामा लगेर बलात्कार प्रयास गरेको आरोप लागेका इलाका प्रहरी कार्यालय कोहलपुरका असई चौलागाईंलाई निलम्बन गरिएको हाे ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीकाअनुसार चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘अब अदालतले सफाइ दियो भने जागिर बच्छ । होइन भने, चौलागाईंको जागिर गयो’ एसपी अधिकारीले भने ।
मुद्दा फाँटमा कार्यरत चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई राती दुई बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेकाे आरोप छ । ‘सोधपुछ’ गर्ने बहाना बनाएर असई चौलागाईंले ती महिलालाई कोठामा बोलाएका थिए । कोठामा बोलाएपछि असई चौलागाईंले बलात्कारको प्रयास गरेका उजुरीमा उल्लेख छ ।
साउन ११ गते बहुविवाह मुद्दामा प्रहरी हिरासतमा आइपुगेकी महिलालाई असई चौलागाईंले गलत नियतले राती २ बजे कोठामा बोलाएका थिए । महिलालाई आधाराती असईले कोठामा बोलाएपछि हिरासतमा रहेका थुनुवाले होहल्ला गरेका थिए । प्रहरीले आज आरोपित चौलागाईँलाई अदालतमा उपस्थित गराउँदैछ ।




