बीबीसी । संयुक्त राष्ट्रसङ्घले डीआर कङ्गोमा चर्किएको द्वन्द्वका कारण तीन शान्ति सैनिकले ज्यान गुमाएका र अन्य केही घाइते भएको पुष्टि गरेको छ । नेपाली सेनाले त्यहाँ परिचालित नेपाली सैनिकहरू सुरक्षित रहेको जनाएको छ ।
नेपाली सेनाका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै द्वन्द्व चर्किएको क्षेत्रमा नेपाली शान्ति सैनिकहरूको ठूलो टोली नरहेको र त्यहाँ खटिएका स्टाफ अधिकृतहरूलाई सुरक्षित स्थानमा लगिएको बताएका छन् । डीआर कङ्गोको पूर्वी सहर बुटेम्बोमा अवस्थित राष्ट्रसङ्घीय टोलीका दुई शिविरमा भएका झडपमा तीन शान्ति सैनिक र एक दर्जन प्रदर्शनकारी मारिएको विवरण आएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै डीआर कङ्गोको सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न ध्यानाकर्षण गराएका छन् । ज्यान गुमाएका शान्ति सैनिकमध्ये दुई जना भारतीय सीमा सुरक्षा बलका सदस्य रहेको उल्लेख गर्दै भारतका विदेशमन्त्री एस जयशङ्करले उनीहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
डीआर कङ्गोमा के भइरहेको छ ?
संयुक्त राष्ट्रसङ्घको शान्ति मिशन मोनुस्कोले हिंसा र राष्ट्रसङ्घका सम्पत्ति लुटपाट भएका घटनामा प्रदर्शनकारीको भेषमा आएका अपराधीहरू संलग्न रहेको आरोप लगाएको छ । उसका अनुसार उनीहरूले कङ्गोका प्रहरीको हतियार खोसेर गोली चलाएका थिए ।
खनिज पदार्थमा धनी डीआर कङ्गोको पूर्वी भागमा दशकौँदेखि सशस्त्र समूहहरू सक्रिय छन् । तिनले गर्ने हिंसात्मक गतिविधि नियन्त्रण गर्न विफल भएको भन्दै डीआर कङ्गोमा मोनुस्कोप्रति आक्रोश व्यक्त हुँदै आएको छ । देशको पूर्वीभागमा १०० वटाभन्दा बढी विद्रोही समूहहरू क्रियाशील छन् । सत्तारूढ समूहको युवा सङ्गठनले सोमवार आयोजना गरेको प्रदर्शन हिंसात्मक भएको थियो ।
कङ्गोमा रहेका नेपाली शान्ति सैनिकको अवस्था कस्तो ?
संयुक्त राष्ट्रसङ्घको शान्ति सैनिक हेर्ने निकायको वेबसाइटका अनुसार डीआर कङ्गोमा १,१६३ शान्ति सैनिक परिचालित छन् । तीमध्ये १,१२५ जना कन्टिन्जन्टका सैनिक, ११ प्रहरी र बाँकी स्टाफ अधिकारी तथा पर्यवेक्षक हुन् ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले त्यहाँ तैनाथ सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको बताए । ‘सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित छन् । नेपाली सेनाको जङ्गी अड्डाले निरन्तर रूपमा नजिकबाट अवस्थालाई नियालिरहेका छौँ र हामी त्यहाँका कमान्डरसँग निरन्तर सम्पर्कमा छौँ,’ उनले भने ।
उनले अहिले तनाव देखा परेको ठाउँमा खटिएका केही पर्यवेक्षक तथा स्टाफ अधिकारीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताए । डीआर कङ्गोमा नेपाली सेनाको एउटा द्रुत प्रतिकार्य टोली, एउटा इन्जिनियरिङ एकाइ र एउटा गण छन् । ती सैन्य एकाइहरू बुनिया र बेनीमा परिचालित छन् ।




