कुहिने र नकुहिने फोहोर आजदेखि छुट्टाछुट्टै दिन संकलन गरिने

काठमाडौँ । सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोर वर्गीकरण गर्नुपर्नेछ ।

घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग-अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ । फोहोर वर्गीकरण नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवाना समेत तिर्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले आजदेखि लागू हुने गरी सो प्रावधान लागू गरेको छ ।

काठमाडौँ महानगरपालिकाका कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले फोहोरको सहज सङ्कलन तथा व्यवस्थापनका लागि साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गर्ने प्रावधान कडाइसाथ लागू गर्ने जानकारी दिएकी छन् ।

उनका अनुसार महानगरले हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोरको सङ्कलन र व्यवस्थापन गर्नेछ । आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्ने उनले जानकारी दिएकी छन् । विभाग प्रमुख राईका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवाना समेत गरिनेछ ।

राईले कुहिने फोहोरलाई सकेसम्म कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसाबारी वा कौसीखेतीमा प्रयोग गर्न, नकुहिने पुनः प्रयोग हुनसक्ने सामानलाई पुनः प्रयोग गर्न र चक्रीय फोहोरलाई कवाडी व्यवसायीलाई बिक्री गरी आर्यआर्जन गर्न समेत महानगरले आग्रह गरेको बताएकी छन् । त्यसैगरी प्लास्टिकको झोलाको सट्टा कपडा वा जुटको झोला प्रयोग गर्नसमेत महानगरले आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु, स्याङ्जामा आमाछोरी बिते

काठमाडौं । गुल्मी र स्याङ्जामा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ भने १ …

प्रतिकृया दिनुहॊस