कञ्चनपुर ।१३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे वास्तविकता प्रहरीले बाहिर ल्याउन नसकेको भन्दै कञ्चनपुरमा स्थानीयले आन्दोलन गरेपछि तनाव सिर्जना भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीको उक्त कदमप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
उनीहरुले वास्तविक दोषीलाई जोगाउन मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
गत १० साउनमा साथी घरमा गएकी निर्मला एकाएक बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो । पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको सोमबारको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको थियो।




