काठमाडाैँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत तीन जनामाथि मुद्दा नचल्ने भएको छ । पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो ।
प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको र घटनामा संलग्न भएको कुनै प्रमाण नभएको प्रतिवेदन पठाएको थियो । मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुंगानाले मुद्दा नचल्ने निणर्य गरेका हुन् ।
जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल विनायक नगरपालिका-४ का शाही २१ गते बिहान कालिकास्थानस्थित कुच्चीको भीरमा मृत फेला परेका थिए । हत्या आरोपमा पीडित परिवारले पञ्चदेवल विनायक नगरपालिकाका नव निर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तीमध्ये मेयर चलाउनेसहित सात जना प्रहरीको नियन्त्रणमा छन् भने ६ जना फरार छन् ।
मंगलबार घटनाको अनुसन्धान सकेर प्रहरीले फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । त्यही आधारमा मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता कौशल प्रसाद ढुङ्गानाले मुद्दा नचलाउने निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत अछाममा अभियोग पत्रसहित चार जनालाई मात्रै उपस्थित गराएको छ ।
सरकारी वकिल कार्यालयले तीन जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेकाले रिहा भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा रहेका अन्य चार जना आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।




