काठमाडाैँ । जाजरकोट खलङ्गाको रातो दरबार प्राङ्गणमा लयमा कविता वाचन प्रतियोगिता हुने भएको छ । नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०९ औँ जन्म जयन्तीको अवसरमा असार २९ गते लयमा कविता वाचन प्रतियोगिताको आयोजना हुन लागेको हो ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा खलङ्गाको पहिलो दरबार रातो दरबारको प्राङ्गणमा खुला कविता वाचन प्रतियोगिता हुन लागेको हो । आदिकवि भानुभक्त प्रति सम्मान तथा सम्झना व्यक्त गर्न र जिल्लामा साहित्य एवम् कलाको संरक्षणमा टेवा पुर्याउन लयमा कविता प्रतियोगिताको आयोजना गरिएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । उनले असार २९ गते लयमा कविता प्रतियोगिताका साथै भानु र घाँसीको संवाद वारेको लघु नाटक पनि मञ्चन गरिने जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष केसीका अनुसार लयमा कविता वाचन प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ६ हजार र प्रमाणपत्र, द्वितीय हुनेलाई ४ हजार नगद र प्रमाणपत्र, तृतीय हुनेलाई २ हजार ५ सय नगद र प्रमाणपत्र तथा सान्त्वना हुने एक जनालाई १ हजार ५ सय नगद र प्रमाणपत्र वितरण गरिने छ ।कविता प्रतियोगितामा सहभागी हुन चाहनेहरुले असार २८ गते दिउसो ३ बजे भित्र आफ्नो नाम दर्ता गराउनु पर्ने गरी सार्वजनिक सूचना जारी गरिएको प्रतिष्ठानका अध्यक्ष केसीले बताए ।
जाजरकोटको इतिहास, साहित्य, कला, संस्कृति, भाषा, भेषभुषा, मौलिकता र प्राकृतिक सम्पदाहरूको संरक्षणको लागि जिल्लावासी लगायत सबै सरोकारवालाहरूको पहल जुटाउने उद्देश्यले भर्खरै स्थापना भएको प्रतिष्ठानले आफ्नो पहिलो कार्यक्रमको रूपमा भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा लयमा कविता वाचन प्रतियोगिता आयोजना गरेको बताइएको छ ।
सो कार्यक्रममा प्रतिष्ठानको परिचय तथा उद्देश्यबारे सबैलाई जानकारी दिने कार्यक्रम समेत रहेको आयोजकको भनाइ छ । इतिहास, कला, संस्कृति, साहित्य, भाषा तथा भेषभुषाको मौलिकतामा जाजरकोट निकै वैभवशाली भएपनि यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न खासै पहल हुन नसकेको स्थानीय सरोकारवालाहरू बताउँछन् ।




