काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बीमा योजना “जीवन संजीवनी” सार्वजनिक गरेको छ । न्यूनत्तम ५० हजारको बीमाङ्कमै शुरु गर्न सकिने यस योजनामा बीमितले बीमा अवधीभर पटक-पटक किस्तामा भुक्तानी पाउनेछन् ।
त्यसैगरी , बीमित ९९ वर्ष पुरा हुन्जेल जीवितै रहेमा थप बीमाङ्क रकम भुक्तानी पाउने कम्पनीले जनाएको छ ।यस अन्तर्गत बीमितले बीमाको अवधीका आधारमा बीमा शुरु भएको ३ वर्षदेखि नै किस्तामा बीमाङ्कको रकम भुक्तानी पाउनेछन् । साथै रकम भुक्तानी पाउन बीमा समाप्ती अवधीसम्म कुर्नु नपर्ने व्यवस्था गरिएको छ ।
बीमा अवधीभित्रै बीमितको मृत्यु भएमा परिवारजनले बाँकी बीमाशुल्क नतिरी नै बीमाङ्क रकम र आर्जित बोनश एकमुष्ठ भुक्तानी पाउने प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले जानकारी दिए ।
यस कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यसअघि नै १८ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याई सकेको छ ।





