काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाली कांग्रेस दलाल नोकरशाही पुँजीपति वर्गको पार्टी नभएको बताएका छन् । शनिबार नेकपा राष्ट्रिय एकता अभियानको दोस्रो भेलालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।
कांग्रेस र कम्युनिस्ट मिलेर गरेका आन्दोलन मात्र सफल भएको उनको भनाई छ । ‘नेपालमा कांग्रेसले एक्लै नेतृत्व गरेका आन्दोलन पनि सफल भएका छैनन्, कम्युनिस्ट एक्लैले गरेका आन्दोलन पनि सफल भएका छैनन् । दुईटा मिलेर गरेका आन्दोलन मात्र सफल भएका छन् । यसबाट के पुष्टि हुन्छ भने नेपाली कांग्रेस दलाल-पुँजीपति वर्गको पार्टी होइन । यो पुँजीवादी पार्टी हो । सुधारवादी पार्टी हो । राष्ट्रिय हितका निम्ति वकालत गर्ने राष्ट्रिय पुँजीवादी पार्टी हो । त्यसकारण कांग्रेस कम्युनिस्ट पार्टीको पनि मित्र पार्टी हो,’ गौतमले भने ।
पहिले गाली गरे पनि कांग्रेस परिवर्तन र सुधारको पक्षधर पार्टी भएको उनको भनाइ थियो । ‘पहिले हामीले नेपाली कांग्रेसलाई गाली गर्यौँ । यो दलाल पुँजीपतिहरूको पार्टी हो भनेर भन्यौँ,’ उनले भने, ‘तर नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी नमिल्दासम्म कहिल्यै पनि जनताले अधिकार पाएनन् । नेपालको विकास निर्माणको काम पनि अगाडि बढेन ।’
नेता गौतमले कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जिकिर गरे । ‘जब दुईटा पार्टी मिले खोसिएको जनताको अधिकार सुस्त सुस्त प्राप्त हुने काम शुरु भयो । सबैभन्दा पहिले २०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो । त्यसपछि कांग्रेस र कम्युनिस्ट मिले, राजतन्त्र समाप्त भयो र संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।’
प्रतिकृया दिनुहॊस