भरतपुर महानगरले ल्यायो ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाले आन्तरिक आयतर्फ १ अर्ब ५० करोड, (घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड रुपैयाँ रहने प्रक्षेपण महानगरले गरेको छ ।

यस्तै, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समिति चितवन बाट रु ५ करोड, अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्व ४० करोड रहने प्रक्षेपण महानगरले गरेको छ । आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत योजनाहरू समयमै सम्पन्न गर्नको लागि १ अर्ब ३० करोड बजेट महानगरपालिकाले विनियोजन गरेको छ । वडास्तरबाटै सम्पन्न हुने योजनाहरूका लागि प्रत्येक वडाका लागि २ करोड ५० लाखको दरले जम्मा ७२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

ठूला तथा रणनीतिक महत्त्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको श्रोतसँग समपूरक साझेदारी कोष स्थापना गर्न ६ करोड, सहरी सौन्दर्य र भू–उपयोग तथा बस्ती विकाससम्बन्धी नीतिहरू कार्यान्वयन गर्नका लागि २८ करोड रुपैयाँ विनियोजन गरेको छ । कृषिसम्बन्धी नीति कार्यान्वयन गर्नका लागि ८ करोड, साथै प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदानलाई निरन्तरता, पशु विकास कार्यक्रम कार्यान्वयन गर्न ७ करोड ५० लाख गरी कृषि तथा पशुविकासतर्फ १५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, शैक्षिक विकासको नीति कार्यान्वयन गर्नका लागि १३ करोड महानगरपालिकाभित्र ग्राभेल सानातिना मर्मत तत्काल कार्यान्वयन गर्नको लागि ८ करोड र स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ७ करोड, फोहोरको प्रभावकारी संकलन, ढुवानी तथा व्यवस्थापन एवं हरियाली प्रवद्र्धन गर्नेलगायत नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी, पर्यटन तथा उद्योग वाणिज्यसम्बन्धी नीतिहरू कार्यान्वयन गर्नका लागि २ करोड ५० लाख, विपद् व्यवस्थापनको लागि २ करोड ४५ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप