मंगलवार राति परेको अविरल वर्षाका कारण काठमाडौंका बागमती, धोबीखोला, विष्णुमती आसपासका बस्ती डुबानमा परेका छन् । मध्यरातमा धोबीखोला बस्तीमा पसेपछि धोबीखोला आसपासका सुकुम्बासी बस्ती र अनामनगरदेखि बिजुलीबजारसम्मका वासिन्दा प्रभावित भएका छन् । धोबीखोलाको पानी बस्तीमा पसेपछि लाखौँको क्षति भएको छ।
खोला किनारमा रहेका घर, पसल, कलेज, स्कुल, कार्यालयमा पानी पसेपछि सो क्षेत्रका बासिन्दा रातभर अनिदाे रहे । बिजुली बजारमा बन्दै गरेको पुलका कारण पानी थुनिएर बस्तीमा पसेको स्थानीयको आरोप लगाएका छन् ।
डुबानबाट अनामनगर, देवीनगर, बिजुली बजार र आसपासका क्षेत्र नराम्ररी प्रभावित भएका छन् । साना गल्लीहरूमा बाढीको लेदो पसेपछि आवागमनमा समस्या बनेको छ । आज बिहानै डुबान प्रभावित क्षेत्रको काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले निरीक्षण गरेका छन् । सिंहले पीडितसँग डुबानको अवस्थाबारे जानकारी लिए ।




