काठमाडौँ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाव बढेको छ । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्याएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो । अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उनले जानकारी दिए । मर्मतको काममा मेयर आइतमान तामाङसहितको टोली खटिएको छ ।
सिन्धुपाल्चोकमा अहिले पनि पानी परिरहेको छ र नदी तथा खोलाहरूमा पानीको सतह सामान्य बढेको छ । तर अन्य स्थानमा क्षति भएको विवरण भने नआएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो ।
तपाईंको प्रतिकृया




