रुपन्देहीका अधिकांशमा किसानलाई मिर्गौलाको समस्या

रुपन्देही । शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गौलामा समस्या देखिएको पाइएको छ ।

खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाको माध्यमबाट बाहिरिने हुँदा शरीरमा पानीको मात्रा कम भएर मिर्गौलामा संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालय र नेपाल किड्नी फाउण्डेशन, काठमाडौँको आयोजना र ब्रिज अफ लाइफ, अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गौला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिमा मिर्गौलामा समस्या देखिएको फाउण्डेशनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिए ।

खासगरी किसान केन्द्रित यो शिविरमा लक्षित वर्गमा मुख्यतया जनचेतनाको मुख्य समस्या रहेको उनले बताए । यसमध्ये पनि अधिकांश ५० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिमा मिर्गौलामा समस्या देखिएको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधारणमा मिर्गौला स्वस्थ राख्नुपर्ने विषयमा जनचेतनाको अभावसँगै मानिसको दैनिक खानपिन र बानी व्यहोरामा सुधार नहुनु र अनावश्यक तनावजस्ता कारणले उच्च रक्तचाप र मधुमेहको समस्या धेरैमा देखिएको डा बस्नेतले बताए । उच्च रक्तचाप र मधुमेहको समस्या भएका अधिकांश बिरामीको मिर्गौलामा संक्रमण देखिएको समेत उनले बताए ।

उनले मानिसले मिर्गौला स्वस्थ राख्न पानी तथा झोल पदार्थ बढी पिउने, खानपानमा ध्यान दिने र नियमित रक्तचाप, मधुमेह र मिर्गौलाको परीक्षण गराउनु जरुरी रहेको समेत बताए ।

सर्वसाधारणलाई मिर्गौलाको निःशुल्क परीक्षणसँगै मिर्गौला स्वस्थ राख्न जनचेतना जगाउने उद्देश्यले नेपाल किड्नी फाउण्डेशनले देशका ग्रामीण क्षेत्रमा यस किसिमले निःशुल्क शिविर सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ र १४ को नयाँगाउँमा दुई दिन र तिलोत्तमा नगरपालिकाको कोटिहवामा दुई दिन यो निःशुल्क शिविर सञ्चालन गरिएको छ ।

उनले रुपन्देहीका तीन स्थानमा सञ्चालन गरिएका शिविरबाट झण्डै एक हजार २०० जनाले निःशुल्क सेवा प्राप्त गरेको र यसक्रममा बिरामीलाई रोगअनुसारको निःशुल्क औषधिसमेत वितरण गरिएको जानकारी दिए ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस