भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने

काठमाडौँ । नेपालमा आइतबारदेखि मनसुन आएको छ । जल तथा मौसमविज्ञान विभागले यसअघि अनुमान गरेको मितिभन्दा आठ दिनअघि नै नेपालमा मनसुनको आएको हो ।

विभागले आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै नेपालको पूर्वी भूभागको प्रदेश १ हुँदै मनसुन भित्रिएको जनाएको छ । केही दिनभित्रै देशका सबै भूभागमा मनसुन प्रवेश गर्ने अनुमान विभागले गरेको छ ।

न्यूनचापीय क्षेत्रको विस्तार भएका कारण छिट्टै मनसुन भित्रिएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताइन् । उनका अनुसार भारतको केरलामा झन्डै एक साताअघि निर्माण भएको मनसुनी न्यूनचापीय प्रणाली त्यहाँको बढ्दो तापमानका कारण विस्तार हुने र अन्यत्र सर्ने क्रममा तीव्रता आएकाले पनि नेपालमा मनसुन एक साताअघि नै भित्रिएको हो ।

मौसमविद् कँडेलकाअनुसार यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने उनको भनाई छ ।

जल तथा मौसन विज्ञान विभागले पनि अघिल्ला वर्षमा भन्दा सरदर बढी वर्षा हुने भएकाले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको सम्भावनालाई ध्यानमा राखी पूर्वतयारी थाल्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

आजको मौसम कस्तो रहनेछ ?
अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री