केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।
बिहीवार तथ्याङ्क विभागले प्रदेशस्तरीय जीडीपीको योगदान सार्वजनिक पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्ष २०७८/०७९ को वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो। विभागले प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपीमा) मा वागमती प्रदेशको सबैभन्दा बढी १७ खर्ब ९१ अर्ब रुपैयाँसहित ३६.९ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ। तर सात प्रदेश मध्ये कर्णाली प्रदेशले सबैभन्दा कम १ खर्ब ९८ अर्ब रुपैयाँले ४.१ प्रतिशतको योगदान गर्ने अनुमान तथ्याङ्क विभागले बताएको छ।
अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा वागमती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको तुलनामा वागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान घटेको विभागको तथ्याङ्कले देखाएको छ।
विभागको तथ्याङ्क अनुसार १५.७ प्रतिशतको योगदानसहित प्रदेश १, दोस्रो स्थानमा छ । त्यस्तै १४.१ प्रतिशतसहित लुम्बिनी प्रदेश तेस्रो र १३.२ प्रतिशतसहित मधेश प्रदेश चौथो स्थानमा रहन सफल भएको छ । कुल ग्राहस्थ योगदानमा ८.९ प्रतिशतको योगदान दिएको गण्डकी प्रदेश पाँचौँ स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेश ७.० प्रतिशतसहित छैटौं र कर्णाली प्रदेश ४.१ प्रतिशतसहित सातौं स्थानमा रहेको विभागले जनाएको छ।
प्रतिकृया दिनुहॊस