फ्रान्समा आज राष्ट्रपति निर्वाचन: म्याक्रोन र मरिनबीच प्रतिष्पर्धा

एजेन्सी । फ्रान्समा राष्ट्रपति निर्वाचनको अन्तिम चरणको मतदान २४ अप्रिल आइतबार हुँदैछ । यसपटक राष्ट्रपति पदका लागि इमानुएल म्याक्रोन र मरिन ले पेनबीच प्रतिस्पर्धा हुदै छ । सोमबारसम्म नतिजा आउने बताइएको छ । २०१७ मा पनि यी दुई उम्मेदवारहरू बीच प्रतिस्पर्धा थियो । त्यतिबेला म्याक्रोन मेरिनलाई हराएर राष्ट्रपति बनेका थिए ।

यसपटकको चुनावमा फ्रान्सका मुद्दासँगै रुस–युक्रेन युद्धको प्रभाव पनि देखिएको छ । विगत पाँच वर्षदेखि, म्याक्रोन र मेरिनले हिजाब, मुस्लिम आप्रवासीहरूलाई आश्रय दिने, बढ्दो मुद्रास्फीति र देशमा जलवायु परिवर्तन जस्ता मुद्दाहरू सार्वजनिक गर्दै आएका थिए। तर फेब्रुअरीको अन्त्यमा युक्रेनमा रुसले गरेको आक्रमणपछि अवस्था परिवर्तन भएको छ ।

एकातिर, म्याक्रोनको रुस विरोधी अडानलाई फ्रान्सेली जनताबाट समर्थन मिलिरहेको छ । चुनावी दौडमा उनले अग्रता हासिल गरिरहेको पछिल्ला पोलहरुले देखाएका छन् । जबकि मारिन ले पेनको राष्ट्रवादी अडान घट्दै गएको देखिएको छ । यदि म्याक्रोन दोस्रो कार्यकाल जितेर राष्ट्रपति बने भने उनी त्यसो गर्ने दोस्रो राष्ट्रपति हुनेछन् ।

म्याक्रोनले रुस-युक्रेन युद्धमा युक्रेनलाई खुलेर समर्थन गरिरहेका छन् । त्यसैगरी, उनी हिजाब र मुस्लिम शरणार्थीहरूलाई शरण दिने कुरामा पनि उदारतावादी छन् । उनले यसलाई फ्रान्सेली मूल्य भनेर मतदातालाई रिझाइरहेका छन् । टिभी बहसहरूमा मुस्लिमहरूप्रति मरिनको कट्टर मनोवृत्ति धेरैलाई मन नपरेको देखिएको छ । पछिल्लो चुनावको तुलनामा मेरिनले यसपटक म्याक्रोनलाई चुनौती दिने देखिएको छ । यो बहसमा मरिन सुरुदेखि नै तयार देखिइन् । उनले म्याक्रोनमाथि धेरै आरोप लगाइन् ।

मरीनले चुनाव जितेमा मुस्लिम महिलालाई हिजाब लगाउन प्रतिबन्ध लगाउने वाचा गरेकी छन् । म्याक्रोनले यसको विरोध गरेका थिए । म्याक्रोनले भनेका छन्- ‘यसो गर्नाले देशमा गृहयुद्ध हुन्छ । पश्चिमी युरोपमा फ्रान्समा सबैभन्दा बढी मुस्लिम जनसंख्या छ । यस्ता निर्णयले देशलाई गृहयुद्धतर्फ धकेल्छ ।’

अप्रिल १५ देखि १८ सम्म भएको पोलका अधारमा म्याक्रोनले ५४ प्रतिशत मत पाउने बताइएको छ भने मरिनले ४६ प्रतिशत मत पाउने बताइएको छ । यस अघि भएको पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत नपाएपछि धेरै मत पाउने दुई उम्मेदवार म्याक्रोन र मरिन दोस्रो चरणको प्रतिष्पर्धामा भिड्न लागेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री