आयोगको नेताहरुलाई आग्रह : निर्वाचनप्रति संशय जगाउने अभिव्यक्ति नदिनुस्

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति संशय जगाउने अभिव्यक्ति नदिनका लागि राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको छ । राजनीतिक दलका नेताहरूले निर्वाचन सर्ने लगायतका अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको आयोगले बिहीबार जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ । निर्वाचनको विषयमा अन्योलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।’

आयोगले स्थानीय तह निर्वाचनको तयारी तीव्रताका साथ भइरहेको र अन्तिम चरणमा पुगेको जनाएको छ । त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूणर् गतिविधिबारे जानकारी दिन बिहीबारदेखि नै ‘स्थानीय तह निर्वाचन इ-बुलेटिन’ प्रकाशन सुरु गर्न लागेको पनि जानकारी दिएको छ । आयोगका आधिकारीक सूचना प्रवाहका लागि उक्त प्रकाशन गर्न लागिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप