आजबाट सुरु भयो भक्तपुरको विस्केट जात्रा

काठमाडाैँ । भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारदेखि सुरु भएको छ । विस्केट जात्राका लागि आवश्यक नित्यपूजा बिहान ५ बजेबाट सुरु भएसँंगै जात्रा सुरु भएको हो । तर, जात्राको मुख्य आकर्षण भने साँझ मात्र हुनेछ ।

साँझ भैरवनाथको रथ तान्ने जात्रा मुख्य आकर्षण हो । गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख भीमा ओलीले साँझ तीन बजेबाट भैरवनाथको रथ तान्ने क्रम सुरु गर्ने योजना रहेको बताइन् ।

प्रत्येक वर्ष नयाँ वर्ष सुरु हुनु चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाएको भैरवनाथको रथ तान्ने गरिन्छ । यसलाई द्यो क्वह विज्याइगू अर्थात देवता तल सवारी हुने भनिन्छ । यस दिन भैरवनाथको रथलाई तानेर नगरको पश्चिमतिर अर्थात् गहिटी, बंशगोपाल क्षेत्रमा लाने गरिन्छ ।

रथलाई दुवैतिर मोटोमोटो डोरी राखेर सयौं युवायुवतीहरुले तान्ने गर्दछन् । यो क्रममा जात्रा हेर्न आउनेहरु पनि हजारौं हुन्छन् । रथलाई जता तानेर लगे पनि साँझ पुनः पाँचतल्ले मन्दिर अगाडि नै राखेर छोडेपछि पहिलो दिनको जात्रा समापन हुने परम्परा छ ।

आठ रात नौ दिन लामो जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिंगो डोरीको सहायताले तानेर उठाइन्छ । वर्षको अन्तिम दिन उठाइने लिंगोलाई भोलिपल्ट अर्थात् वैशाख १ गते साँझ ढाल्ने गरिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री