सुर्खेत । एमसीसीविरोधी आन्दोलनले उग्र रूप लिएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार बिहानदेखि युवाहरूले एमसीसीविरुद्ध नारा लगाउँदै सुरक्षाकर्मीलाई समेत सास्ती दिएपछि आन्दोलन नियन्त्रण बाहिर गएको थियो ।
नेपाल बन्दको नाममा बन्दकर्ताहरु उग्र बन्दैगएपछि वीरेन्द्रनगरका मुख्य मुख्य चोकहरू मंगलगढी, यरीचोक, वीरेन्द्र चोक, बसपार्क चोक र एरपोर्टचोकमा प्रहरी परिचालन गरिएको थियो । तर, उक्त प्रहरीले पनि सुरक्षा दिँदादिँदै केही सुरक्षाकर्मी घाइते समेत भएपछि आन्दोलनकारीले झन् उग्ररुप लिएका थिए । साँझ पाँच बजेपछि बन्दकर्ताहरु झन् उग्र बन्द गर्दै बजारमा ढुंगामुढा बर्जाउँदै बजार परिक्रमा गरेर अन्तिमा विभिन्न राजनीति दलका कार्यालयमा समेत तोडफोड गरेका छन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार पार्टी कार्यालयका ब्यानरहरू त जलाएर नै छाडे र भौतिक क्षति समेत हुन पुगेको रे विभिन्न चोकमा रहेका प्रहरीका अस्थायी विट समेत बन्दकर्ताले क्षति प-याएको बताए । प्रजिअ रिजालले भने ‘बन्दकर्ताहरु अहिलेपनि लुकिछिपी प्रहरीमाथि ढुङ्गा हान्नेक्रम जारी राखेका छन् मंगलबार बिहान प्रहरीमाथि ढुङ्गा हान्न प्रयास गर्ने तीन जनालाई पक्राउ गरिएको छ ।’
प्रजिअ रिजालले थपे ‘कर्फ्यु आदेशलाई उल्लङ्घन गर्नेलाई गोलीसमेत हान्न सकिने आदेश जारी गरिएको छ । हामी सुरुमा सम्झाई बुझाई गर्छौँ । यदि आदेशको वास्ता नै नगरी आदेश उल्लङ्घन गरेको खण्डमा गोली समेत हान्न सकिने आदेश जारी छ ।’
प्रहरीका अनुसार सोमबार बिहानदेखि अहिलेसम्म २० जना आन्दोलनकर्ता प्रहरीको नियन्त्रणमा रहेका छन् । जसमध्ये १७ जनालाई सोमबार नै पक्राउ गरिएको थियो । यस्तै दुईपक्षबीचको झडपमा ७ जना प्रहरी घाइते भएका छन् भने केही मात्रामा सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । बन्दकर्ताहरूले अति गर्न थालेपछि सोमबार राती आठ बजेदेखि मंगलबार साँझ सात बजेसम्म वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यु लगाइएको छ । सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले नेपाल बन्द घोषणा गरेका थिए ।




