प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा एमसीसी, स्थानीय निर्वाचन र नियमित प्रशासनिक कामकारबाही बारेमा छलफल हुनेछ । आजको बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा हुने सम्भावना रहेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन समयमै गर्न दबाब बढाएको छ । आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर जेठ ४ मा निर्वाचन गर्न परामर्श दिएका थिए । भेटमा उनले मन्त्रिपरिषद्को अबको बैठकबाट निर्वाचन मिति घोषणा गर्ने जानकारी दिएका थिए । प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे साझा धारणा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार छलफल गरेका थिए ।

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ पहिलो हप्ता सकिँदैछ । सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ । वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप