काठमाडौंको धोबीखोला कोरिडोरको अतिक्रमित सडकपेटी खाली गराउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा पुगेकी छिन्।
बुधबार अनामनगरबाट मन्त्री झाँक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो। मन्त्री झाँक्रीसँगै महानगरीय प्रहरी, कामनपा नगर प्रहरी, मन्त्रालयका कर्मचारी लगायत सम्बन्धित कार्यालयका कर्मचारीहरुको टोलीले सडकपेटी अतिक्रमण भएको क्षेत्र खाली गराएको हो।
सडकपेटीमा थुपारिएको निर्माण सामग्री नियन्त्रणमा लिई गुह्येश्वरीमा रहेको खाली जग्गामा लगेर राखिने र सम्बन्धित व्यक्ति लिन आएपछि एक पटकलाई फिर्ता दिने मन्त्रालयका अधिकारीले बताएका छन्।
सडकपेटी खाली गराउन १५ दिनअघि मौखिक सूचना दिए पनि अटेर गरेपछि फिल्डमा आएर खाली गराउनु परेको मन्त्रालयले बताएको छ।
धोबीखोला कोरिडोर अन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त हुने मन्त्री झाँक्रीले बताइन्।




